क्रमश: पहिलो भागबाट
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य भएका बेला यिनैको सम्पादनमा 'प्रज्ञा' (त्रैमासिक) प्रकाशित हुन्थ्यो । साथै यिनले दार्जीलिङ बस्तै तेस्रो आयामको प्राग्परिप्रेक्ष्यमा 'फूलपातपत्कर' पनि सम्पादन गरेका थिए । साथै तेस्रो आयामका तर्फबाट इन्द्रबहादुर रार्ई, वैरागी काइँला र र्इश्वरवल्लभहरूले 'तेस्रो आयाम' नाउँको पत्रिका पनि चलाए । साथै र्इश्वरवल्लभले 'नेपाली चलचित्र निर्माण' नामक कृतिको पनि सम्पादन गरे ।
एकताका नेपाली साहित्याकाशमा तेस्रो आयाम भन्नु निक्कै चर्चित विषय थियो । त्यतिखेर इन्द्रबहादुर राई, वैरागी काइँला र्इश्वरवल्लभको हातेमालोले तेस्रो आयामको स्थापना भएको थियो । नेपाली साहित्याकाशमा तेस्रो आयाम एउटा आन्दोलनका रूपमा विराजमान भइरह्यो ।
र्इश्वरवल्लभले थुप्रै कविता लेखे । वास्तवमा उनले अन्य विधामा कलम चलाए तापनि उनलाई सबैले कवि नै भने । कविताका अतिरिक्त निबन्ध र प्रबन्धहरूमा पनि उनको लेखनशिल्पीले लोकप्रियता कमाउँदै गयो । कविता, कथा, निबन्ध र समालोचनाका विषयमा चाहिँ उनका कृतिहरू पनि प्रकाशित भइरहे । 'आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्' (कवितासङ्ग्रह), 'समान्तर' (कवितासङ्ग्रह), 'एउटा सहरको किनारामा' (कवितासङ्ग्रह), 'कस्मैदेवाय' (कवितासङ्ग्रह), 'केही भूमिकाहरू' (निबन्धसङ्ग्रह), 'सोचको मायामठ' (निबन्धसङ्ग्रह), 'नीलो माटो' (कथासङ्ग्रह), 'प्रस्तुत' (समालोचनासङ्ग्रह)का साथै यिनले करिब पचासओटा गीत पनि लेखे ।
नेपाली भाषासाहित्यमा र्इश्वरवल्लभको योगदानले सुप्रबल गोरखादक्षिणबाहु, गद्दीआरोहणको रजतमहोत्सव पदक र वीरेन्द्रऐर्श्वर्य सेवापदकबाट उनी विभूषित र अलङ्कृत भए । नेपाली भाषासाहित्यमा समर्पित भएबापत उनी मदन पुरस्कार, साझा पुरस्कार, रत्नश्री स्वर्ण पदक, मुक्ति पुरस्कार, व्यथित सिन्धु पुरस्कार, प्रेस काउन्सिल पुरस्कार आदिबाट पुरस्कृत भए भने उनले कलासाहित्य डट कम प्रतिष्ठानबाट विद्वतवृत्ति पनि पाए । वाङ्मयको उत्कृष्ट सेवामा आबद्ध भएबापत विभिन्न सङ्घसंस्थाहरूबाट उनलाई अभिनन्दनपत्रहरू पनि समर्पित गरिए ।
र्इश्वरवल्लभले नेपालका विभिन्न भूभाग घुमे । घुम्ने क्रममा उनले देशका साहित्यकार र कलाकारहरूसँग पनि सौहार्दता गाँसे । साथै उनले भारत, चीन, थाइल्यान्ड र हङकङको पनि भ्रमण गरी अनुभवहरू सङ्ग्रह गरे ।
नेपाली साहित्याकाशमा अत्यन्तै श्रद्धेय, आदरणीय र माननीयर् इश्वरवल्लभको योगदानले नेपाली भाषा तथा साहित्यउद्यानको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्यो । उनले आफूले मात्र लेखेनन् नेपाली भाषा लेख्ने थुप्रै स्रष्टाहरूलाई मलजल पनि गरे । उनी नेपाली भाषासाहित्यका एउटा हर्कुलस नै थिए । उनी यस बाटामा हिँडेर कहिल्यै थाकेनन् ।
बिहान नभई बतासले शीत किन सुकाइदिन्छ
जस्तै मेरा पीरहरूले गीत सबै लुकाइदिन्छ ।
र्इश्वरवल्लभ नेपाली समाजमा खूबै चर्चित नाउँ हो । वास्तवमा उनका गीतहरू रेडियो नेपालबाट बजेपछि उनी जनचर्चामा आइरहे । उनको साहित्यिक व्यक्तित्वको एउटा पाटो उनी गीतकार पनि भएकाले श्रोताहरूले उनको थप प्रशंसा गरे । त्यति मात्र होइन, उनका शब्दरचनाहरू रेडियो नेपालबाट जति बजे प्रायः सबै जनप्रिय पनि भए ।
चाहे गीत भनौँ, चाहे कविता भनौँ ती एउटै रूखका हाँगाहरू हुन् । तर गीतचाहिँ विद्युतीय श्रव्यमाध्यमबाट जनश्रुतिमा पुग्ने हुँदा गीतकार चाँडै जनपरिचित पनि हुन्छ । त्यसैले र्इश्वरवल्लभ भन्ने नाउँ नेपाली समाजमा चाँडोभन्दा चाँडो एउटा सुप्रसिद्ध व्यक्तित्वमा रूपान्तरित नाउँ हुन गयो । हुन त उनका कविता महासागर हुन् । उनका कविता अति उच्च स्थानमा छन् । त्यसो त उनीद्वारा सृजना भएका कथा, निबन्ध, प्रबन्धहरूको महिमा उपल्लो दर्जाका छन् । त्यसैले बौद्धिक जगतले चाहिँ उनलाई कवि अथवा साहित्यकार भन्नमा बढी गौरव मान्ने गर्छ :
फुलाई फूल फुल न धर्ती आकाश ओर्ली आउला
मोहनी लाउला हिमालीले पन्छीले गीत गाउला ।
र्इश्वरवल्लभलाई २०६४ चैत १० गते एकाबिहानै नर्भिक अस्पताल लगियो । एकैछिनमा उनी त्यहीं स्वर्गीय भए । त्योभन्दा केही बर्ष अघि पनि उनलाई त्यही अस्पतालमा वसन्त चौधरीले झन्नै एक महिना राखेर उनको उपचार गरिदिएका थिए । चौधरीले नै र्इश्वरवल्लभका लागि अस्पतालदेखि आर्यघाटसम्म लागेको सबै खर्च जुटाई दिए ।