फाइनल खेल:
जोहान्र्सवर्गको सकर सिटी रंगशालामा खेलिएको फाइनल खेलमा स्पेन र नेदरल्याण्ड दुवै टिम नयाँ इतिहास कोर्न चाहन्थे । संसारको नयनदृष्टि त्यो रंगशालामा टिकेको थियो । ९० मिनेटको खेलमा कुनै गोल हुन सकेको थिएन । खेल कौतुहलतापूर्ण थियो । निकै रोचक थियो । पेनाल्टी शुटआउटतर्फ उन्मुख हुँदै गइरहेको थियो विश्वकपको यो फाइनल खेल । खेल ११६औं मिनेटमा पुगेको त्यो अबिस्मरणीय क्षणमा सेस फाव्रिग्यासको पासमा एन्ड्रेस इनिएस्टाले गरेको गोलले स्पेनलाई अन्ततः यसपटकको फिफा विश्वकप बिजेता बनाएरै छाड्यो । नेदरल्याण्ड उपबिजेता भएर अर्को विश्वकपको तयारीमा जुट्न घर फर्क्यो ।
यसरी समूह चरणको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग हारेको स्पेनले पहिलो म्याच हारेर पनि विश्वकपको सवभन्दा अन्तिम अनि महत्वपूर्ण म्याच फाइनल जित्ने पहिलो टिम भएको छ ।
स्मरणरहोस्, यसपटकको विश्वकप बिजेता र उपबिजेता स्पेन र नेदरल्याण्ड मात्र यस्ता टोली थिए जसले विश्वकप क्वालिफाइङ्ग म्याचमा सबै खेल जितेका थिए ।
(हेर्नुहोस् क्वालीफाइङ्ग चरणको खेल स्थिति )
रेफ्रीका बिवादास्पद निर्णयहरू:
प्रि-क्वाटरफाइनलको जर्मनी र इंग्ल्याण्डबीच भएको खेलमा इंग्ल्याण्डका खेलाडी फ्रान्क लामपार्डले हानेको शट क्रसबारमा ठोक्किएर गोल लाइन क्रस भएको भएपनि रेफ्री जर्ज लारिन्डोले त्यस गोललाई मान्यता नदिँदा २-१ ले पछाडि परेको इंग्ल्यान्ड ४-१ ले हार्न पुग्यो । अर्जेन्टिना र मेक्सिकोबीचको खेलमा कार्लोस टेभेजले गरेको गोल अफसाइड रहेको भएता पनि रेफ्रीले मान्यता दिएका थिए । यी घटनाहरूमा रेफ्रीहरूको चर्को आलोचना भएको थियो र फिफाका अध्यक्ष सेप्प ब्लाटरले माफी माग्नु परेको थियो ।
विश्वकपमा गोल:
यस विश्वकपमा कुल १४५ गोल भएको थियो । दक्षिण अफ्रिकी खेलाडी शिफिवे शाबालालाले मेक्सिकोबिरुद्ध गरेको गोल यो विश्वकपको पहिलो गोल थियो भने फाइनलमा स्पेनका एन्ड्रेस इनिएस्टाले नेदरल्याण्डबिरुद्ध गरेको अन्तिम । समूह चरणमा घानाका असामोह ज्ञानले र्सर्बियाबिरुद्ध पेनाल्टीमा पहिलो गोल गरेका थिए ।
नेदरल्याण्डबिरुद्धको खेलमा डेनमार्कका खेलाडी ड्यानियल एग्गेरको गोल पहिलो आत्मघाती गोल थियो भने दक्षिण कोरियाबिरुद्ध अर्जेन्टिनाका गोन्जालो हिगुइनको पहिलो हृयाटि्रक । यस विश्वकपमा उनी एउटै मात्र हृयाटि्रक गर्ने खेलाडी हुने पुगे ।
समूह चरणको खेलमा अर्जेन्टिनाबिरुद्धको खेलमा दक्षिण कोरियाली खेलाडी पार्क चु योंगले दोस्रो आत्मघाती गोल गरेका थिए भने क्वाटरफाइनलमा ब्राजिलका फिलिप मेलोले नेदरल्याण्डबिरुद्धको खेलमा गरेको आत्मघाती गोल तेस्रो तथा अन्तिम थियो ।
यस विश्वकपमा जापान र पाराग्वेबीचको खेलमा पहिलोपटक पेनाल्टी शुट आउटमा निर्णय गर्नुपरेको थियो । थप अतिरिक्त समयसम्म पनि दुवै टीम ०-० मा रहँदा पेनाल्टी शुट आउटमा पाराग्वे ५-३ ले बिजयी भएको थियो ।
क्वाटरफाइनलमा उरुग्वे र घानाबीचको खेल पनि पेनाल्टी शुट आउटमा निर्णय भएको थियो । निर्धारित ९० मिनेटसम्मको खेलमा दुवै टीमबीच १-१ गोल भएको थियो । थप अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टीमा उरुग्वेले घानालाई ४-२ ले हराएको थियो ।
गोल गर्ने ९६ जनामध्ये चारजना खेलाडीले ५-५ गोल गरेका छन् । जर्मनीका थोमस म्युलर, स्पेनका डेभिड भिल्ला, नेदरल्याण्डका वेस्ले स्नाइडर र उरुग्वेका डियगो फोर्लानले र्सवाधिक ५-५ गोल गरेका थिए । त्यस्तै ४-४ गोल गर्ने तीनजना, ३-३ गोल गर्ने चारजना रहेका छन् । बाँकी १४ खेलाडीले २-२ गोल गरेका छन् भने ७१ जनाले १-१ गोल गरेका छन् ।
(हेर्नुहोस् २ वा दुई भन्दा बढी गोल गर्नेहरुको नामावली)
भुभुजेला:
यस वर्षको विश्वकपमा धेरैजस्तो दर्शकहरूको ध्यान तान्ने गरी एकथरि आवाज टेलिभिजनमा सुनियो । हजारौं माहुरीहरू एकै ठाउँमा भुन्भुनाइरहेकोजस्तो सुनिने यो एकैनासको आवाज परम्परागत दक्षिण अ अफ्रिकी बाजा भुभुजेलाको थियो । दक्षिण अफ्रिकामा स्थानीय सामुदायिक भेलामा उपस्थित हुनलाई सूचित गर्न बजाइने यो बाजा यस वर्षो विश्वकपमा खूबै प्रख्यात भयो । पहिलो चरणका खेलहरूमा धेरै सुनिएको यो बाजा अफ्रिकी राष्ट्रहरू बाहिरिने क्रमसँगै कम हुँदै गएको थियो । प्लास्टिकले बनेको यस यन्त्रले १२० डेसिबलसम्मको आवाज निकाल्न सक्ने भएकोले नजिकै बसेर सुन्दा बहिरो समेत हुन सक्ने भन्दै यसलाई प्रतिबन्ध लगाइनु पर्ने आवाज उठेको भएतापनि फिफा अध्यक्ष सेप्प ब्लाटरले यसलाई दक्षिण अफ्रिकी संगीत परम्परा भएको भन्दै प्रतिबन्ध लगाउनुको तुक नरहेको भनाइ सार्वजनिक गरेका थिए । टेलिभिजन प्रसारकहरूको टाउको दुखाइ बनेको यसको आवाजको प्रभाव टेलिभिजन कमेन्ट्रीको बेला कम गर्न विभिन्न प्रसारक कम्पनीहरूले कम्प्युटर सफ्टवेयरसमेत प्रयोग गर्नु परेको थियो ।
ब्राजिल र अन्य ल्याटिन अमेरिकी मुलुकहरूमा पनि यस्तै खालको बाजा बजाइन्छ ।
पाउल:
फुटबलको यस विश्वकपमा खेलाडी र खेलसँगै एक सामुद्रिक जीव अक्टोपसको पनि ठूलो चर्चा भयो । जर्मनीको ओबेरहाउसेन भन्ने शहरको सी-लाइफ सेन्टरको एउटा ट्यांकमा बस्ने पाउल नामक उक्त अक्टोपसले यस विश्वकपमा गरेका आठ वटै भविष्यवाणी सही साबित भएका थिए । इंग्ल्याण्डको वेमाउथ शहरको सी-लाइफ सेन्टरमा २००८ मा जन्मेका पाउलले जर्मनीले खेलेका प्रारम्भिक चरणका खेलहरूको सफल भविष्यवाणीपछि यसको चर्चा पनि चुलिंदै गयो । यसपछि क्वाटरफाइनल खेलमा इंग्ल्याण्ड र अर्जेन्टिनामाथि नकआउट चरणमा जर्मनीले जीत हात पार्ने र सेमिफाइनलमा स्पेनसँग उसले हार्ने भन्ने उसको भविष्यवाणी सफल भएपछि ऊ एकाएक टेलिभिजन र पत्रपत्रिकातिर छाउन पुगेको थियो ।
चुलिँदो चर्चासँगै जर्मनी र उरुग्वेबीचको तेस्रो स्थान र र फाइनल खेलको बिजेताको लागि उसले गरेको भविष्यवाणी विश्वभरि प्रत्यक्ष प्रसारण गरिएको थियो । तेस्रो स्थानमा जर्मनी र फाइनलमा स्पेन बिजयी हुने उसको भविष्यवाणी पनि सही निस्केको थियो ।
पाउलले यूरो कप २००८ मा पनि भविष्यवाणी गरेका थिए । त्यतिखेर उसले गरेको भविष्यवाणीमा ६ वटामध्ये चार वटा सही निस्केको थियो ।
अब अर्को विश्व फुटबल मेलाको लागि प्रतीक्षा गरौं जुन सन् २०१४ मा ब्राजिलमा हुने भएको छ ।