|
समसामयिक एसियाली कलासँग प्रतिस्पर्धा गर्दै नेपाली कला पनि नयाँ दिशा लिएर अगाडि बढिरहेको छ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान चित्रकला विभागद्वारा शुक्रबार प्रज्ञाप्रतिष्ठानमा आयोजित समारोहमा भर्जिनिया कमन वेल्थ युनिभर्सिटीका सहप्राध्यापक डा डिना बाङ्देलले समसामयिक एसियाली कलाका बारेमा प्रवचन दिँदै नेपाली कलाले लिएको नयाँ मोड लिएको बताउनुभयो ।
प्रसिद्ध आधुनिक चित्रकार लैनसिंह बाङ्देलकी सुपुत्री डा बाङ्देलले भारत र चीनको समसामयिक कला इतिहाससँग नेपालको कलालाई तुलना गरी नेपाली कलालाई विश्वव्यापी रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चीनको कलामा साम्यवाद र सामाजिक यथार्थवाद झल्किएको तथा भारतका कलामा विशेष गरी महिलाको चित्रण गर्दा पारम्परिक शैलीलाई आधुनिक शैलीमा ढालिएको बताउँदै नेपाली कलाको क्षेत्रमा पनि विकास हुँदै गएको चर्चा गनुभयो ।
उहाँले आगामी दश वर्षभित्र नेपाली कलालाई विश्वव्यापीरुपमा विकास गर्न नेपालको समसामयिक कलाको इतिहास लेख्न जरुरी छ भन्नुभयो । उहाँले एसियाली कलासम्बन्धी स्लाइड पनि प्रदर्शन गर्नुभएको थियो ।
सो अवसरमा प्रतिष्ठानका कुलपति किरण मानन्धरले महिला कलाकार र समीक्षकले नेपालको आधुनिक कलाकारितामा पुर्याएको योगदान प्रशंसनीय छ भन्नुभयो ।
|