|
मेरो हांसो खुशी र आकांक्षाहरु केही छैन जीवन जिउनुको अर्थ र सार्थकता पनि छैन किन कि म बेचिएकी चेली हुं भन्छन बेचिएकी चेलीको कुनै रहर हुदैन रे । सप्तरगीं सिंगारमा सजिएर हिंड्नु नारी पर्व तीज र भाइटीकाहरुमा रमाउनु पापै लाग्छ मलाई किन कि म बेचिएकी चेली हुं भन्छन बेचिएकी चेलीको कुनै आत्मा हुदैन रे । मैले त तिर्खाएको ऊंटहरुलाई सागर बनी प्यास मेटाउनु पर्छ भोकाएका हिंस्रक सिंहहरुलाई कांचो बिलो बांडेर भोक मेटाउनु पर्छ किन कि म बेचिएकी चेली हुं भन्छन बेचिएकी चेलीको कुनै जीवन हुदैन रे । यिनै पुरुषहरु हुन कसैले बेची दिन्छन कसैले किनी दिन्छन निर्मम कुमारित्व र अस्मीताहरु लुट्छन् अनि आफूलाई बहादुर सम्झंदै रण्डी र बेश्याकको उपनाम दिन्छन । हुन पनि म बेचिएकी चेली हुं भन्छन बेचिएकी चेलीको कुनै नाम हुदैन रे । हराभरा बैंस भईन्जेल सकिन्जेल लुट्छन् र चुस्छन सुरा सुन्दरी र परि भनि भनि जवाजी सबै रित्याई दिन्छन । अनि कामै नलाग्ने पत्कर ठानी फाली दिन्छन् हुन पनि म बेचिएकी चेली हुं भन्छन बेचिएको चेलीको कुनै मूल्य हुदैन रे । यहां लुटेराहरु चोखो हुन्छन लुटिएकाहरु जुठो हुन्छन हो हजुर म बेचिएकी चेली हुं भन्छन् बेचिएकी चेली मान्छे बन्न सक्दैन रे । त्यसैले मेरो हांसो खुशी र आकांक्षाहरु केही छैन जीवन जिउनुको अर्थ र सार्थकता पनि छैन । हो म माइति भनाउंदाहरु बाटै बेचिएकी एक चेली हुं ।
समर्पण ती चेलीहरुलाई जो बेचिएर तिरस्कृत जीवन जिउन बाध्य छन् । माफ गर्नु होला बेचिएकी चेलिहरु प्रति हाम्रो समाजले गर्ने ब्याबहार र त्यसले दिने पीडालाई बिषय बनाएर लेख्ने कोशिस गरेको छु । सम्पूर्ण मानव जाति मानव बेचबिखानको बिरुद्ध एक जुट हौं ।
|