तारा गन्दै, खुला आकाश ओढेर बिताउँछु रातहरू आमाको न्यानो अंगालो त्यो छोडेर बिताउँछु रातहरू
भन्छन् सवैले खाते मलाई धपाउँदै वरपरबाट टायर बालेर पेटीमा बसेर बिताउँछु रातहरू
सपना कसको हुँदैन र, मेरा नि छन् हजारौं सपना तर, सडक पेटीमा भोको ढलेर बिताउँछु रातहरू
कठ्याँग्रिएर मर्यो मेरो छेवैको अर्का खाते मेरैसामु एकपछि अर्का दृश्य त्यो, सम्झेर बिताउँछु रातहरू
मेघरूपी केस्रा फिजाई किन चुहायौ अश्रु वर्षातझैं पीर तिम्रो सवै नै मैले साटेर बिताउँछु रातहरू
च्यातेको थिएँ तिम्रो सवै तस्वीर तिम्ले छोडी गाको दिन थाम्नै नसकी टुक्रा टुक्रा जोडेर बिताउँछु रातहरू
घुम्टो ओढेर सजियौ अनि खूवै रमायौ रे मण्डपमा महिनौ भयो एक्लै कोल्टे फेरेर बिताउँछु रातहरू
मलाई याद छ मेरो दाइले मन्त्री बन्ने स्वप्न देखेको वर्षौ भो त्यो खुशीको क्षण पर्खेर बिताउँछु रातहरू
विदेशी भूमिमा आएछु व्यर्थ आफ्नो गाउँ नै प्यारो रैछ सगरमाथा कोशी मन्मा साँचेर बिताउँछु रातहरू
|