|
सर्वोच्चको आदेशपछि निष्क्रिय रहनु भएका उपराष्ट्रपति परमानन्द झाले आइतबार दोस्रो पटक आफ्नो मातृभाषा मैथिली र नेपाली भाषामा पद तथा गोपनीयताको सपथ लिनुभएको छ।
उपराष्ट्रपति झालाई राष्ट्रपति डा. रामवरण यादवले आइतबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ गराउनुभएको हो। सो अवसरमा उपराष्ट्रपति झाले नेपाली र आफ्नो मातृभाषा मैथिलीमा सपथ लिनुभएको थियो ।
समारोहमा प्रधानमन्त्री माधवकुमार नेपाल, प्रधानन्यायाधीश अनुपराज शर्मा, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ उपस्थित हुनुहुन्थ्यो । मन्त्रीगण, संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरू, सरकारी उच्चपदस्थ पदाधिकारीहरू समारोहमा सहभागी हुनुभएको थियो ।
नेपालको अन्तरिम संविधान, २०६३ मा संशोधन गरिएपछि उपराष्ट्रपति झालाई मातृभाषामा पनि सपथ लिन कानुनी बाटो खुलेको हो । अन्तरिम संविधानमा गरिएको पछिल्लो संशोधनमा राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्रीले आ-आफ्नो मातृभाषामा सपथ लिन पाउने व्यवस्था गरिएको छ ।
|