|
दुई वर्षअघि उनका हातमा जुठो भाँडामात्रै हुन्थे, एक वर्षअघि उनका हातहरूले राइफल चलाउने रहर गरेका थिए तर अहिले उनका हातहरू कपडा सिलाउने मेसिनतर्फ आकषिर्त भएका छन् । सुर्खेत लाटिकोइली गाउँ विकास समिति-९ धुलियाविटकी २२ वषर्ीया सविना चौधरीका हातहरूमा तीन वर्षको अन्तरमा फेरिएका यी दृश्यहरूले गाउँलेहरूलाई चकित पारेको छ ।
सात कक्षा पढ्दापढ्दै आमाको मृत्यु भएपछि आर्थिक समस्याका कारण कम्लरी बस्न बाध्य सविनाको जीवनमा तीन वर्षयता निकै परिवर्तन आएको छ । दाङ, बाँकेलगायतका जिल्लामा तीन वर्ष कम्लरी जीवन बिताएकी सविनाले अध्ययन कार्यलाई निरन्तरता त दिन सकिनन् तर जीवनलाई दासताबाट भने मुक्ति दिलाइन् ।
उनी दासताको त्यो जीवनबाट यति खुला र उत्साहित भएर आइन् कि 'एउटा थारू किसानको छोरीका हातहरू जुठा भाँडा माझ्नलाई मात्र हुन्' भन्ने समाजलाई बन्दुक समाएर देखाइदिन गत वर्ष उनी नेपालगन्जसम्म पुगिन् । नेपाल प्रहरीमा भर्ती खुलेकाले उनी ठूलो उत्साह र जोसका साथ नेपालगन्ज पुगिन् तर विडम्बना उनको त्यो लक्ष्यमाथि उनको उचाइले बाधा हालिदियो । "प्रहरीका लागि आवश्यक उचाइ नपुगेपछि ममाथि अर्को चुनौती थपियो"-सविना भन्छिन्- "तैपनि म निराश भइनँ, समाजलाई गरेर देखाउने अनेक उपायको खोजी गर्न थालें ।"
प्रहरीसेवामा आकषिर्त भएकी सविनामा जुनकुनै किसिमले पनि प्रहरी सेवासँग सम्बद्ध हुने रहर त जाग्यो तर फेरि पैसाको समस्याले त्यो पूरा हुन सकेन । सविनाको त्यो खोजीकार्य आर्थिक अभावका कारण पनि भनेजस्तो सहज थिएन । समाजलाई बेग्लै काम गरेर देखाउने धोको लिएकी सविनाको अर्को विकल्प निस्कियो- कपडा सिलाउने मेसिन चलाउने ।
सिलाइ-कटाइ सिक्न थाल्दा उनले आफूजस्तै पूर्वकम्लरी सिर्जना चौधरीलाई पनि भेटिन् । लाटिकोइली गाविसकै वडा नं. ४ की २० वषर्ीया सिर्जनाले पनि सविनाले जस्तै समाजलाई केही गरेर देखाउने रहर गरेपछि दुवै जनाले एक महिनासम्म सिलाइ-कटाइ सिके ।
सुरुमा सिलाइ-कटाइ मेसिन चलाउन डराउने सविना र सिर्जना अहिले व्यावसायिकरूपमै टेलरिङ गर्न सफल भएका छन् । सिर्जना भन्छिन्-'सुरुमा त सकिँदैन कि जस्तो लाग्थ्यो, घरमा पनि यसले गर्छे भनेर विश्वासै गर्दैन्थे । अहिले टेलरिङ व्यवसाय सुरु गरेको देखेर त अचम्म मान्छन् ।'
कुनै दिन मालिकको घरमा जुठा भाँडा माझेर समय खेर फालिरहेका सविना र सिर्जना अहिले सीप सिकेर व्यावसायिकरूपमा सिलाइ-कटाइलाई अँगाल्नसक्ने भइसकेका छन् । तर उनीहरूसामु फेरि पनि समस्या बनेको छ- समाजको अविश्वास ।
'सीप सिकेरमात्र के गर्नु, यो केटीले कहाँ राम्रो कपडा सिलाउन सक्छे भनेर मानिसहरू विश्वासै गर्दैनन्'- सिर्जना भन्छिन्- 'त्यही कारणले गर्दा मानिसहरू कामै दिँदैनन् । अनि कसरी अँगाल्नु पेसा ?' उता सविनालाई भने अहिले मानिसहरूले काम नदिए पनि अर्काको घरमा दासताको जीवन बिताउनुभन्दा आप+mै सीप सिकेर कामको खोजी गर्नसक्ने भएकोमा सन्तोष छ । 'काम खोज्दै गए एकदिन कसो नपाइएला'- सविना भन्छिन् ।
सरकार, सङ्घसंस्था र समाजले आफूहरूजस्ता केही गर्न चाहने पूर्वकम्लरीका बारेमा विशेष ध्यान दिनुपर्ने सविना र सिर्जनाको माग छ । सरकार र सङ्घसंस्थाले आफूहरूको सीपको उपेक्षा गरेको उनीहरूको गुनासो छ । आफूहरूको भाँडा माझ्ने क्षमतामाथि विश्वास गर्नेहरूले सिलाइ-कटाइको सीपमाथि पनि विश्वास गर्नुपर्ने सविनाको भनाइ छ ।
सविना भन्छिन्- 'भाँडा माझ्न थारूका छोरीहरूबाहेक अरू कोही सक्षम छैनन् कि जस्तो गरी खोजी-खोजी लैजाने तर अरू सीपमा भने विश्वासै नगर्ने ? यो कस्तो न्याय हो ?' सविनाका दुई बहिनी अझै पनि साँझ-बिहान मालिकका जुठा भाँडा माझ्न बाध्य छन् । कतै जागिर खान सकियो भने ती बहिनीहरूलाई आफूजस्तै बन्धक हुनबाट बचाउँला भन्ने उनको ठूलो धोको छ तर जागिर पाइने-नपाइने अनिश्चितताले उनलाई साह्रै चिन्तित बनाएको छ ।
भाँडा माझ्दा विश्वास गरेका ती हातहरूलाई कपडा सिलाउने मेसिन समाउँदा किन विश्वास नगर्ने ? सविना र सिर्जनाजस्ता हजारौँ पूर्व कम्लरीका यस्ता प्रश्नहरूले समाजबाट जवाफ खोजिरहेका छन् ।
|