|
आउने शुक्रबार नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाको दोश्रो महाधिवेशन हुने भएको छ। डेरा दुबईको कार्लटन टावर होटलमा हुने उक्त महाधिवेशनमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिका उपाध्यक्ष गोबिन्दप्रसाद आचार्यको विशेष उपस्थिति रहनेछ।
७ मार्च २००७ मा स्थापित यस शाखाको वर्तमान कार्यसमितिले आउने अगस्त १७ तारेखका दिन आफ्नो कार्यकाल पूरा गर्ने भएकोले यो अधिवेशनलाई यूएईमा महत्वका साथ हेरिएको छ।
१५ जना साधारण सदस्य रहेको उक्त शाखाको यस अधिवेशनले सात सदस्यीय कार्यसमिति चयन गर्नेछ। अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष एक एक जना र सदस्य दुईजना गरी सात जनाको कार्यसमितिको निर्वाचन गर्न शाखाका वर्तमान अध्यक्ष जाकिर हुसैनलाई निर्वाचन गराउने जिम्मेवारी दिइएको छ। निजलाई केन्द्रीय उपाध्यक्ष श्री आचार्यले निर्वाचन प्रक्रियामा सहयोग गर्ने बुझएको छ।
कार्लटन टावर होटलमा दिउँसो १२ बजे बन्द सेसन शुरु हुने उक्त कार्यक्रममा १५ जना सदस्यलाई मात्र प्रवेषाज्ञा दिइएको छ।
शाखाका अध्यक्ष जाकिर हुसैनले दिएको जानकारी अनुसार बन्द सेसनपछि दिउँसो तीनबजे आयोजना गरिने घोषणासभामा महामहिम राजदूत अर्जुनबहादुर थापाको प्रमुख्य आतिथ्य रहने कार्यक्रममा यूएईका सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने बुझएको छ। नेपाली बुद्धिजीवी, समाजसेवी, साहित्यकार, कलाकार, व्यापारी वर्ग तथा महिलाहरूको विशेष उपस्थिति रहने उक्त कार्यक्रममा यूएईका नेपालीहरूको समस्या, सम्भाव्यता, प्रेस स्वतन्त्रता, मानव अधिकार र मौलिक हक आदिको बारेमा अन्तरक्रिया हुनेछ।
कार्यक्रममा केही स्थानीय अंग्रेजी पत्रिकाहरूका पत्रकारहरू र केही स्थानीय नागरिकहरूको पनि उपस्थिति रहने बुझएको छ।
|