|
अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मी जिल्लाका विभिन्न सडकखण्ड रिडी, रुद्रवेणी, वामीटक्सार बुर्तिबाङमा यातायात अवरुद्ध भएको छ । गुल्मीको लिम्घा गाविसको वडा नं. ८ मा सडकदेखि केही माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा रिडी, रुद्रवेणी वामीटक्सार हुँदै बुटवल र काठमाडाँैबाट गुल्मीको क्षेत्र नं १ र बागलुङको बुर्तिबाङलगायत क्षेत्र नं ३ का अधिकांश गाविसमा चल्ने यातायात बन्द भएका छन् ।
पहिरोका कारण बुटवल काठमाडाँैलगायतका विभिन्न स्थानबाट गुल्मीको क्षेत्र नं १ र बागलुङको बुर्तिबाङलगायत दर्जनौँ गाविसमा पुग्ने यात्रुहरु र ती स्थानबाट बाहिर जाने यात्रुहरु अलपत्र परेका छन् । वर्षा अविरल भइरहेको र पहिरो झरिरहेकाले तत्काल बाटो खुल्ने सम्भावना नरहेकेा जुहाँङ प्रहरी चौकीले जनाएको छ ।
यस्तै केही दिन अगाडिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको बढीघाट खोलामा बाढी आउँदा वम्घा गाविसमा रहेको फाँट डुबानमा परेको छ । वम्घा गाविस-५ मा रहेको ६०४ मुरी धान उब्जाउ हुने १५१ रोपनी खाल्टे फाँट डुबानमा परेको हो । अहिले फाँटको बस्तीमा रहेका गाई वस्तुहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेका छ । डुबानबाट मानवीय क्षति भने नभएको स्थानीय हेमलाल भण्डारीले बताउनुभयो ।
|