|
प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएको नेपाली कांग्रेसले शुक्रबार साना दलहरुसँग छलफल गरेको छ। छलफलमा कांग्रेसले साना दलहरुलाई आफ्नो पक्षमा समर्थन गर्न आग्रह गरेको थियो। काँग्रेसले शुक्रबार नेकपा माले,नेकपा संयुक्त र समाजवादी प्रजातान्त्रिक पार्टीसंग आफूलाई समर्थन गर्न आग्रह गरेको हो ।
काँग्रेस संसदीय दलमा साना दलहरुसंगक छलफल गरिएको थियो । बैठकपछि माले महासचिव सीपी मैनालीले सबै पार्टी मिलेर जानुपर्ने र त्यसका लागि प्रमुख तीन दललले पहल गर्नुपर्ने सुझाव आफूहरुले दिएको बताए । 'भोट दिन्छौ,दिन्नौं भनेका छैनौं,'उनले भने-'पौडेलकै नेतृत्वमा सहमति गरेर अघि बढ्न सहमत छौं ।'
बैठकमा काँग्रेस नेतृत्वसंगै मालेका मैनाली,संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र समाजवादीका अध्यक्ष प्रेमबहादुर सिंह उपस्थित थिए । संविधानसभामा मालेको ८,संयुक्तको ५ र समाजवादीको १ सभासद रहेको छ ।
यसैबीच,संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाले उठाएको मागका विषयमा काँग्रेसले आफ्नो लिखित अवधारणा तयारी गर्दैछ । काँग्रेस नेता डा.रामशरण महतका अनुसार १४ बुँदामा लिखित अवधारणा तयार गर्न लागिएको छ । संसदीय दलका नेता रामचन्द्र पौडेल,उपनेता प्रकशमान सिंह र रामशरण महत लगायतको टोलीले मोर्चाको माग बारे लिखित जवाफ तयार पार्दैछन् ।
|