|
तीव्र रुपमा फँडानी भइरहेको वन संरक्षणमा पछिल्लो समयमा सुर्खेतका महिलाहरु पनि सक्रिय भएका छन् । घरायसी कामकाजमा मात्र सीमित हँुदै आएका कुनाथरी गाविस- ९ का महिला अहिले सामाजिक तथा आर्थिक विकासका काममा समेत अग्रसर भएका छन् ।
चौतर्फीरुपमा बढ्दै गएको वन विनासलाई निरुत्साहित र रोकथाम गर्न कुनाथरीका महिलाहरु सक्रिय भएर अघि बढेका हुन् । सत्तरी घरधुरीका करिब १२९ जना महिला मिलेर आफूले प्रयोग गर्दै आएको वनको संरक्षण, स्ाम्वर्द्धन र सदुपयोग गर्ने उद्देश्यले वन उपभोक्ता समिति गठन गरेका छन् ।
दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्ने तथा समूहलाई आर्थिक तथा सामाजिक रुपमा सम्पन्न बनाउने उद्देश्यले समूहको गठन गरिएको बताइएको छ । त्यस्तै गरिब तथा पिछडिएका जनजातिको उत्थान गर्ने, उपभोक्ताहरुको क्षमता वृद्धि र आयमूलक कार्यक्रम सञ्चालन गर्ने समूहको लक्ष्य रहेकोसमेत समूहकी सचिव सीता शाहीले बताउनुभयो ।
|