|
नेपाल वायुसेवा निगमले उडान कटौती गरेपछि नेपालगन्ज राँझा विमानस्थलमा दिनहुँ गन्त्वयमा जाने सर्वसाधारणको भीड लाग्ने गर्छ ।
पहाडी र हिमाली जिल्लाको रुकुम, जुम्ला, हुम्ला, बाजुरा, बजाङ, अछाम, डोटीलगायतका जिल्लामा हप्तामा चारवटा उडान भर्ने नेपाल वायु सेवा निगमले अहिले कटौती गरेर हप्तामा दुई वटा उडान गर्दै आएको छ ।
अछाम, डोटी, बझाङ र रुकुममा निजी एयरलाइन्सका कुनै पनि उडान हुँदैनन् । रुकुमका लागि १० दिनदेखि जहाजको प्रतिक्षामा बसे पनि उडान नहुँदा आफू बेखर्ची भएको रुकुमका धर्मराज केसीले बताए । हातमा टिकट भए पनि वायु सेवा निगमले कहिल्यै मौसम खराबी, कहिल्यै कर्मचारी नआएको बहानामा उडान नगरेको बझाङका चक्रराज गिरीको भनाइ छ ।
नेपालगन्जबाट पहाडी र हिमाली क्षेत्रमा नियमित उडान नहुँदा यात्रुहरु तीन हप्तासम्मलगातार विमानस्थल धाउने गरेका छन् । नेपाल वायु सेवा निगम क्षेत्रीय कार्यालय नेपालगन्जका क्षेत्रीय प्रबन्धक महेशकुमार मुक्तानले मौसमको खराबी, जहाजको कमी र पाइलटको कमीका कारण हिमाली र पहाडी क्षेत्रमा नियमित उडान प्रभावित भएको बताउनुभयो ।
वर्षातको सुरुवातसँगै हवाई सेवा अनियमित हुन थालेपछि हिमाली र पहाडी क्षेत्रमा खाद्य समस्या र भोकमरी सुरु हुने सम्भावना बढेको छ ।
|