नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाका सदस्य धर्मेन्द्रकुमार यादवलाई बरदुबईको हाइलैण्ड रेष्टुरेन्टमा शाखाले आयोजना गरेको एक समारोहमा विदाई गरियो।
महासंघको यूएई शाखाको तेस्रो वार्षिकोत्सवको अवसर पारी गरिएको सो कार्यक्रममा प्रवासी नेपाली पत्रकार सञ्जालका संयोजक तथा शाखाका अध्यक्ष जाकिर हुसैनले पत्रकार यादवलाई दोसल्ला ओढाई प्रमाण पत्र प्रदान गरेर सम्मान गरे। अध्यक्ष हुसैनले श्री यादव यूएईमा एक सक्रिय पत्रकारहरुमध्ये एक हुन् भन्दै उनले यूएईमा विगत पाँच वर्षदेखि नेपाली पत्रकारितामा पुर्याएको योगदानको चर्चा गरे।
यादव नेपाली समाचार केन्द्रले प्रकाशन गर्ने पाक्षिक पत्रिका नेपाली समाचारका सम्पादक हुन्। उनी महासंघका संस्थापक सदस्यसमेत हुन्। यूएमा रहँदा विभिन्न सामाजिक संघ संस्थामा संलग्न भई सक्रिय रहँदै आएका यादव नेपाल दुबई जनकल्याण राहत कोषका संस्थापक अध्यक्ष हुन्। उनी नेपाली समाजमा प्रवक्ता भई समेत कार्य गरे।
श्री यादवलाई आजै बिहान डेरा दुबईमा नेपाली समाचार केन्द्रले आयोजना गरेको एक कार्यक्रममा समेत विदाई गरिएको थियो।
कार्यक्रममा गणतन्त्र नेपालका प्रथम राष्ट्रप्रमुख, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिगतमा ज्यान गुमाएका पत्रकारहरूको सम्झनामा एक मिनेटको मौनधारणसमेत गरियो।
नेपाली समाचार केन्द्रका अध्यक्ष शारदाप्रसाद भट्टराई (राजु), सल्लाहकार कृष्ण ढकाल, हाम्रो सहयात्रा प्रकाशन प्रा.लि. का डाइरेक्टर सालिकराम सुवेदीलगायत महासंघ यूएई शाखाका पदाधिकारी र अन्य पत्रकारहरूको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो।
|