नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाले हिजो बरदुबईको हाइलैण्ड रेष्टुरेन्टमा आफ्नो तेस्रो वार्षिकोत्सव “प्रवासमा उत्तरदायित्वपूर्ण पत्रकारिता” विषयक एक कार्यशाला गोष्ठीका साथ सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा शाखाका महासचिव जेपी सापकोटाले प्रस्तुत गरेको “प्रवासमा उत्तरदायित्वपूर्ण पत्रकारिता” विषयक कार्यपत्रमाथि वृहद् छलफल भएको थियो। पत्रकार आचारसंहिताको पालना, निष्पक्ष, निडर, स्वच्छ, स्वतन्त्र पत्रकारिता, पत्रकारितामा नियमितता, स्तरीयता, नक्कल गरी गरिने सम्प्रेषण, भाषा तथा सम्पादनलगायतका विषयहरुमा उपस्थित पत्रकारहरूले विचार पोखे।
प्रवासबाट गरिने नेपाली पत्रकारिताको विषयलाई प्रमुख मुद्दा बनाएर गरिएको गोष्ठीमा अनलाइन पत्रकारितामा देखा परेका बिकृति र सम्पादकीय पक्षमा देखिएका कमजोरी र त्रुटीहरूलाई सच्याउनु पर्ने कुरामा पत्रकारहरूले जोड दिए। पत्रकारहरूले पत्रकारितालाई कसरी नियमित र गुणस्तरीय बनाउन सकिन्छ भन्ने विषयमा बृहत् छलफल गरेका थिए। कार्यक्रममा नेपाली समाचार केन्द्र यूएईका सल्लाहकार कृष्ण ढकालले पत्रकारद्वारा \'अल्पबिराम\' र \'र\' शब्द मात्रको गलत प्रयोगले आफू मर्कामा परेको स्मरण गर्दै पत्रकारिता गर्दा भाषा शुद्धिकरणमा विशेष ध्यान दिनुपर्ने बताए। उनले पत्रकारहरुले कसैको पक्षमा नलागी निष्पक्ष रूपमा सही कुरा औल्याउनु पर्ने बताए। नेपाली समाचार केन्द्रका अध्यक्ष शारदाप्रसाद भट्टराईले यूएईको नियम कानूनलाई कुनै असर नपर्ने गरी पत्रकारिता गर्नुपर्ने बताए। उनले केही विदेशी पत्रपत्रिकाहरुले यूएईको नियम कानूनलाई असर पार्ने काम गरेकोले त्यस्ता पत्रपत्रिकाहरुलाई यूएईमा प्रतिबन्ध गरिएको जानकारी दिए। त्यस्तै हाम्रो सहयात्रा प्रकाशनका डाइरेक्टर तथा पत्रकार शेषनारायण झाले विभिन्न पत्रकारहरुले आ–आफ्नो तवरले समाचार सम्प्रेषण गर्ने हुनाले सबै समाचार एकनास हुन नसक्ने बताए।
अन्तर्राष्ट्रिय नेपाली एकता मासिकका सम्पादक मानबहादुर थापाले श्रमजीवी पत्रकार ऐन लागू भइसकोकोले अब पत्रकारहरुको हकहित तथा पेसा सुरक्षित हुनुका साथै गुणस्तरीय पत्रकारिता हुने बताए। नेपाली समाचारपत्र पाक्षिकका सम्पादक धर्मेन्द्रकुमार यादवले यूएईमा यथार्थ लेख्दा धाक, धम्की तथा कम्पनीमा फोन गरी मानसिक यातना दिनेजस्ता कृयाकलाप भइरहेको बताए। उनले यस किसिमको प्रबृत्ति बढ्नाले पत्रकारिता जगत् नै अप्ठ्यारोमा परेको बताए। उनले छद्मभेषमा गलत व्यक्तिले यूएईको पत्रकारितालाई बदनाम गराउन गलत कुराहरु विभिन्न मिडियामा ल्याएको बताए। ईनेपाली अनलाइन डटकमका सम्पादक अर्जुन दाहालले अरूको समाचारलाई आफ्नो नाममा छाप्ने प्रवृत्ति प्रवासका नेपाली अनलाईन पत्रपत्रिकामा देखिएकोले यसमा सुधार गर्नुपर्ने कुरामा जोड दिए। ऐक्यबद्धता मासिकका समाचारदाता रमेश बेल्वासेले हाल हामी संस्थाहरुले गरिरहेका कार्यक्रममुखी पत्रकारिता गरिरहेका छौं। यूएईमा कामदारको पक्षमा विभिन्न विषयलाई पनि उजागर गर्नु पर्छ उनले भने। हामीले लेबर क्याम्पहरुको स्थलगत भ्रमण गर्नु पर्छ भन्ने कुरामा उनले जोड दिए। महासंघले यूएईमा पत्रकार उत्पादन गर्ने कुरामा जोड दिनु पर्ने उनले बताए। एबीसी टीभीका प्रतिनिधि हरिकृष्ण पन्थीले पत्रकारहरु निष्पक्ष, निडर हुनुका साथै जनपक्षीय हुनु पर्ने बताए। अर्घाखाँची डटकमका प्रतिनिधि उमाकान्त पाण्डे \'गाउँले\' ले प्रत्येक पत्रिकाले प्रवासमा आफ्नो सम्बाददाता नियुक्त गर्नु पर्ने बताए। शाखाका सदस्य नारायण अधिकारीले पत्रकारिता गर्दा सामाजिक मानमर्यादालाई ख्याल राख्नुपर्छ भने। उनले भएका कुरा मात्र लेख्नु पर्छ, कपोलकल्पित कुरा लेख्नु हुन्न भन्ने कुरामा विशेष जोड दिए। शाखाका अध्यक्ष जाकिर हुसैनले अबका दिनमा पत्रकार महासंघ यूएई सम्पर्क शाखाले सदस्य बनाउँदा वा नविकरण गर्दा नियमित पत्रकारिता गरेको प्रमाण हेरेर मात्र गरिने बताए। महासंघले यहाँको पत्रकारितालाई मर्यादित र उत्तरदायीपूर्ण बनाउन पटकपटक आधारभूत पत्रकारिता तालीम सञ्चालन गरेको र यस्तै प्रकृतिको कार्यशाला गोष्ठी गर्दै आएको बताए। उनले छद्मभेषीहरुले पत्रकारहरुलाई बदनाम गराउन अलनाइन मिडियाहरुको दुरुपयोग गरी पितपत्रकारिता गरेको र महासंघले त्यसलाई रोक्न पटकपटक प्रयास गरेका बताए। उनले प्रत्येक पत्रकार व्यक्तिगत रूपमा सक्रिय हुनु पर्ने कुरामा विशेष जोड दिंदै यहाँका पत्रकारहरुले एकअर्काको मुख ताकेर बस्ने र समाचार तयार नपार्ने कम्जोरीमाथि कडा टिप्पणी गरे। उनले पत्रकार निडर र निष्पक्ष हुनु पर्ने कुरामा जोड दिंदै पत्रकारले सवैको वाहवाही पाउन कदापि सक्दैन। लोकप्रियताको लागि पत्रकारिता नगर्न उनले जिकिर गरे।
महासंघ यूएई शाखाका सचिव शंकर ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष खेमनाथ पौडेलले सहभागीहरुलाई स्वागत गरेका थिए भने अर्का उपाध्यक्ष मानबहादुर थापाले कार्यक्रमको टिप्पणी गरेका थिए। उक्त कार्यक्रम पत्रकार धर्मेन्द्र यादवको संयोजनमा सम्पन्न भएको थियो।
कार्यक्रममा शाखाका संस्थापक सदस्य पत्रकार धर्मेन्द्र यादवलाई दोसल्ला ओढाई सम्मान गर्दै विदाई गरिएको थियो।
|